दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा

by समतल अनलाइन
23Shares

बुटवल। निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको छ।

सार्वजनिक ट्रेलरमा प्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास र घातसँगै मानवीय सम्बन्धका विविध पक्षलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र पात्रलाई लिएर दर्शकमाझ चासो बढेको निर्माण पक्षको भनाइ छ।

चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन्। उनीहरूसँगै हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन ‘खबपु’, अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम र प्रेमदेव गिरीलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको प्रमुख आकर्षणमध्ये नारायण त्रिपाठीको पुनरागमनलाई पनि लिइएको छ। लामो समयपछि ठूलो पर्दामार्फत दर्शकमाझ फर्किएका त्रिपाठीले चलचित्रमार्फत पुनः दर्शकसँग जोडिन पाउँदा आफू आशावादी रहेको बताएका छन्।

निर्माता रामनारायण उपाध्यायले सामाजिक विषयवस्तुलाई आधार बनाएर चलचित्र निर्माण गरिएको बताए। ‘चमेलीको पोइ’ आफ्नो पहिलो चलचित्र भए पनि समय, परिस्थिति र बजारको अवस्थालाई बुझ्दै आगामी दिनमा निरन्तर चलचित्र निर्माण गर्ने उनको भनाइ छ।

कला, संस्कृति र पहिचानको प्रवद्र्धन तथा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आफू र आफ्नो परिवार चलचित्र क्षेत्रमा सक्रिय भएको उपाध्यायले बताए।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता छन्। उदयविक्रम राणा र ऋतु मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

निर्देशक बोहराको कथामा शिवम अधिकारीले पटकथा तथा संवाद लेखनमा सहकार्य गरेका छन्। चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

चलचित्रको ‘माया मान्छौ र’ गीत यसअघि नै सार्वजनिक भइसकेको छ। गीतको भिडियोमा सुरक्षा पन्त र मुकुन भुसाललाई मुस्ताङका रमणीय दृश्यमा प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ।

निर्माणको सुरुवाती चरणदेखि नै कलाकारको विविधता, हास्यप्रधान कथावस्तु तथा सामाजिक र पारिवारिक विषयवस्तुका कारण चर्चामा रहेको चलचित्र ‘चमेलीको पोइ’ दशैंको अवसरमा दर्शकमाझ पुग्न लागेको हो।

निर्माता सुनीता सापकोटाका अनुसार चलचित्र असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभर प्रदर्शनमा आउनेछ।

You may also like