नेपालमा वर्षाको गतिविधि घट्दै जाने, केही स्थानमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
45Shares

नेपालमा वर्षाको गतिविधि घट्दै जाने, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै जाने मौसमविद्हरूले बताएका छन्। यद्यपि आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको हो।

यससँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरेकाले गएराति मध्य नेपालका विभिन्न स्थानमा ठूलो वर्षा भएको अधिकारीले बताए। उनका अनुसार अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेकाले यसको प्रभाव पनि क्रमशः कम हुँदै गएको छ।

हाल बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र न्यूनचापीय क्षेत्रको प्रभावका कारण मधेश, बागमती र कोशी प्रदेशका पश्चिमी भूभागमा बादल लागेको छ। ती क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पश्चिमी नेपालका धेरै स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको अधिकारीले बताए।

चितवन र गण्डकीसहित केही क्षेत्रमा भारी वर्षाको सम्भावना
आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ।

कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा वर्षा हुने भए पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए। यद्यपि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना भने कायम छ।

मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् अधिकारीका अनुसार आज राति भने भारी वर्षाको सम्भावना छैन। रातिदेखि मौसममा धेरै हदसम्म सुधार आउने र आगामी दिनमा वर्षाको गतिविधि क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।

You may also like