बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि असोज ७ गते हुने गाउँ–नगरपालिका अधिवेशनलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिकामा नेतृत्वका लागि उम्मेदवारी घोषणा हुने क्रम तीव्र बनेको छ।
यसैक्रममा बुटवल उपमहानगरपालिका नगर सभापतिका लागि जितबहादुर मल्लले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। मल्लले सभापतिसहित पाँच पदाधिकारी रहने गरी आफ्नो टिमसमेत सार्वजनिक गरेका छन्।
मल्लको टिमबाट उपसभापतिमा तीर्थराज काफ्ले, महिला उपसभापतिमा करुणा मल्ल, सचिवमा रमेशप्रसाद अधिकारी र सहसचिवमा सूर्यप्रसाद काफ्लेले उम्मेदवारी दिने घोषणा गरेका छन्।
बुटवल कांग्रेसको नगर नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा मल्ल नेतृत्वको टिमले संगठनलाई थप व्यवस्थित बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा नगर तहमा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।
नेपाली कांग्रेसको संशोधित महाधिवेशन कार्यतालिकाअनुसार असोज ३ र ४ गते देशभर वडा अधिवेशन सम्पन्न गर्ने र त्यसपछि असोज ७ गते गाउँ तथा नगरपालिका अधिवेशन गर्ने कार्यक्रम छ । त्यसैअनुसार बुटवलमा पनि नगर नेतृत्व चयनको तयारी अघि बढेको हो।
न
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका कांग्रेसले सार्वजनिक गरिसकेको छ।

