त्रिपुरेश्वर बस आगजनीमा घाइते चालकको मृत्यु

by समतल अनलाइन
42Shares

काठमाडौं। त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र भएको आगजनीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।

बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालकी निर्देशक निजिना ताम्राकारले जानकारी दिइन्।

मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको उक्त बसमा आगलागी भएको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनामा लामाको शरीर ९० प्रतिशतभन्दा बढी जलेको बताइएको छ।

घटना हुनुभन्दा केही मिनेटअघि, करिब १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। आगजनीको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा पछिल्लो समय काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। सात दाजुभाइमध्ये एक रहेका लामा विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए।

उनले यसअघि केही समय ट्याक्सी तथा चन्द्रागिरि यातायातको बस चलाएका थिए। पछिल्लो ३–४ महिनादेखि भने उनी ऋद्धिसिद्धि यातायातमा कार्यरत रहेको बताइएको छ।

घटनाको वास्तविक कारण तथा आगजनीको पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

You may also like