काठमाडौं । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ बेमा रोकिराखिएको बसमा भएको आगजनीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानविन समिति गठन गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई घटनाको अनुसन्धान तथा छानविन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
सोमबार बिहान करिब १०ः४७ बजे काठमाडौं महानगरपालिका–११ स्थित त्रिपुरेश्वर चोकबाट टेकुतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बसका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको विषयमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम पुर्जी काट्ने विषयमा विवाद भएको थियो। त्यसपछि पार्किङ बेमा रोकिएको उक्त बसमा आगजनी भएको थियो।
छानविन समितिमा प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका प्रतिनिधि सुरेश केसी तथा यातायात क्षेत्रका प्रतिनिधिहरू सदस्य छन्।
समितिले घटनासँग सम्बन्धित तथ्य, प्रमाण र सूचना संकलन तथा विश्लेषण गर्नेछ। साथै, घटनास्थल प्रत्यक्ष देखेका तथा घटनाबारे जानकारी भएका व्यक्तिसँग सोधपुछ गर्ने र घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
बसमा भएको आगजनीबाट गम्भीर घाइते भएका व्यक्तिको पृष्ठभूमि तथा प्रमाणित विवरणसमेत समितिले अध्ययन गर्नेछ। बस पार्किङ बेमा राखिएको समयदेखि आगजनी भएको समयसम्मको घटनाक्रमको टाइमलाइन तयार गरी तथ्यगत विश्लेषण गर्ने कार्यादेश पनि समितिलाई दिइएको छ।
त्यस्तै, घाइते व्यक्तिको मोबाइल तथा साथबाट प्राप्त अन्य सामग्री, घटनासँग सम्बन्धित भिडियो, सन्देश र अन्य व्यक्तिसँग भएको सम्पर्क तथा कल डिटेलसमेत अध्ययन गरिनेछ।
संकलित तथ्य र प्रमाणका आधारमा आगजनीको घटना कसको कारणबाट भएको हो भन्ने यकिन गरी समितिले प्रतिवेदन बुझाउनेछ। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसावधानी तथा नियन्त्रणका उपायसम्बन्धी सुझावसमेत प्रतिवेदनमा समेट्न निर्देशन दिइएको छ।

