पाल्पाका कैदीबन्दीले दिए भोटेकोशी बाढीपीडितलाई ८३ हजार

by समतल अनलाइन
34Shares

काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि पाल्पा कारागारमा रहेका कैदीबन्दीले ८३ हजार रुपैयाँ सहयोग गरेका छन्। कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत कोषको खातामा जम्मा गरिएको कारागार प्रशासक भगवानभक्त अर्यालले जानकारी दिए।

हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन्। उनीहरूले कारागारभित्र गर्दै आएका सीपमूलक तथा उद्यमशीलताका कामबाट आर्जित रकममध्ये केही हिस्सा बाढीपीडितको सहयोगका लागि छुट्याएका हुन्। कैदीबन्दीले मुढा बनाउने, सिलाइ–बुनाइ, डोको–नाम्लो बनाउने, बात्ती बनाउनेलगायतका काम गर्दै आएका छन्।

‘हामी जहाँ भए पनि समाजकै सदस्य हौँ’ भन्ने भावनाका साथ कैदीबन्दीले सहयोग रकम संकलन गरेको प्रशासक अर्यालले बताए। ‘उनीहरूको सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना भने अर्थपूर्ण छ,’ उनले भने।

यसैबीच तनहुँका दुई सामाजिक संस्थाले पनि भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन्। नेपाल मगर संघ भिमादले १ लाख ९५ हजार रुपैयाँ सहयोग गरेको छ। संघका अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार समितिका सदस्यबाट रकम संकलन गरी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

त्यस्तै, ढोर फिरफिरे तमु समाजले १ लाख ५६ हजार ५१५ रुपैयाँ सहयोग गरेको छ। समाजका अध्यक्ष नन्दलाल गुरुङका अनुसार सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरिएको हो। तीन संस्थाबाट मात्रै भोटेकोशी बाढीपीडितका लागि कुल ४ लाख ३४ हजार ५१५ रुपैयाँ सहयोग जुटेको छ।

You may also like