काठमाडौँ । हरितालिका तीजको व्रतका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले नेपाली नारीले आज दर खाँदैछन् । भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्परासँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुने गर्दछ ।
तीजको पहिलो दिन माइती पक्षले चेलीबेटीलाई घरमा बोलाएर दर खुवाउने परम्परा रहिआएको छ । दरमा विशेषगरी दूधबाट बनेका पौष्टिक तथा शरीरलाई ऊर्जा दिने परिकार खाने गरिन्छ । गहुँको रोटी, घिउलगायतका परिकारलाई व्रत बस्ने महिलाका लागि उपयोगी र आडिलो मानिन्छ । शास्त्रीय मान्यताअनुसार दर दुई भाग रात बाँकी रहँदै खानुपर्ने उल्लेख गरिएको छ ।
तीजलाई धार्मिक पर्वसँगै नेपाली महिलाले आफ्ना दुःख, पीडा, वेदना र जीवनका अनुभव गीत तथा नृत्यमार्फत व्यक्त गर्ने अवसरका रूपमा समेत लिने गरेका छन् । विवाहपछि जन्मघर छाडेर कर्मघर पुगेका महिलाले भोगेका सुख–दुःख तीजका भाकामार्फत अभिव्यक्त गर्ने परम्परा पुरानो हो ।
तर पछिल्ला वर्षमा तीज मनाउने क्रममा देखिएको बढ्दो तडकभडक र खर्चिलो प्रवृत्तिप्रति भने चिन्ता व्यक्त हुन थालेको छ । तीज आउनुभन्दा धेरै समयअघिदेखि दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र भोजभतेर गर्ने प्रवृत्तिले पर्वको मौलिकता कमजोर बनाउँदै गएको समाजशास्त्रीहरूको भनाइ छ ।
हरितालिका तीजको मुख्य व्रत भने भाद्र शुक्ल तृतीयाका दिन बसिन्छ । अघिल्लो दिन दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने धार्मिक तथा शास्त्रीय परम्परा रहेको छ । दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म चल्ने गर्दछ ।
भाद्र शुक्ल तृतीयाका दिन महिलाले हरितालिका व्रत तथा भगवान् शिव–पार्वतीको पूजा गर्छन् भने चौथीका दिन गणेश पूजा गर्ने परम्परा छ । त्यसैगरी पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्वको धार्मिक विधि पूरा हुने गर्दछ ।
हरितालिका तीजसँग पार्वती र महादेवसँग सम्बन्धित पौराणिक कथा पनि जोडिएको छ । पौराणिक मान्यताअनुसार हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति बनाउन कठोर तपस्या गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले उनलाई लुकाएर राखेको र त्यही स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको कथा पुराणमा उल्लेख छ ।
पार्वतीलाई उनका साथीहरूले हरण अर्थात् लुकाएर राखेको दिन भाद्र शुक्ल तृतीया परेकाले यस पर्वको नाम ‘हरितालिका’ रहन गएको धार्मिक विश्वास छ ।

