बुटवल । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, तिलोत्तमा नगरपालिका शाखाले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका लागि नगद तथा जिन्सी सामग्री सहयोग गरेको छ।
संस्थाले बाढीपीडितको सहयोगार्थ ६७ हजार ५ सय ६६ रुपैयाँ नगद र २० हजार ६ सय ५५ रुपैयाँ बराबरको जिन्सी सामग्री गरी कुल ८८ हजार २ सय २१ रुपैयाँ बराबरको सहयोग गरेको हो।
संकलित नगद रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ भने जिन्सी सामग्री नुवाकोटको विदुर नगरपालिका–७ र ८ का बाढी तथा विपद् प्रभावित परिवारलाई वितरण गरिएको संस्थाले जनाएको छ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका केन्द्रीय सदस्य अर्जुन ज्ञवालीका अनुसार संस्थाअन्तर्गत दैनिक योग साधना गर्ने व्यक्तिहरूले विपद्को समयमा आफूले पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ आपसमा समन्वय गरी स्वस्फूर्त रूपमा सहयोग अभियान सञ्चालन गरेका हुन्।

ज्ञवालीले विपद्को समयमा सहयोग अभियानमा सहभागी हुने सबै सहयोगी मनहरूप्रति संस्थाको तर्फबाट आभार व्यक्त गरे।
उनका अनुसार तिलोत्तमा नगरपालिकाभित्र हाल विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजद्वारा सञ्चालित १४ वटा योग साधना केन्द्र रहेका छन्। योग साधनासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने उनले बताए।

