काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति गगन थापाबीच आइतबार भेटवार्ता भएको छ।
आइतबार मध्याह्न साढे १२ बजे काठमाडौंमा भएको भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या समाधान तथा पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ।
भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारेका थिए।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए। भेटमा पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक असमझदारी, दूरी तथा त्यसको समाधानका विषयमा समेत छलफल भएको जनाइएको छ।
यस्तै, यही भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङको पछिल्लो अवस्थाबारे पनि दुई नेताबीच छलफल भएको थियो।
बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा समेत उनीहरूबीच कुराकानी भएको बताइएको छ।

