भोटेकोशी बाढीका ५ हजार ३८४ प्रभावितको उपचार, ५ हजारभन्दा बढी अझै बेपत्ता

by समतल अनलाइन
38Shares

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाले स्वास्थ्योपचार पाएका छन्। बाढीले ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै हजारौँ नागरिकलाई विस्थापित बनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न अस्पतालमा अहिले ३०४ जना उपचाररत छन्। नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्। प्रभावित क्षेत्रमा राहत वितरणसँगै घाइतेको उपचारलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।

बाढीपछि अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजारभन्दा बढी विस्थापितलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका नागरिकलाई खानपान, स्वास्थ्य उपचार तथा अन्य आधारभूत सेवा उपलब्ध गराउँदै बेपत्ताको खोजी कार्य जारी राखिएको छ।

यसैबीच, बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी (सुस्ता पूर्व र पश्चिम) तथा भारतमा गरी १ हजार २९० जनाको शव फेला परेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष छन्। यसबाहेक ५३२ आंशिक अङ्गसमेत फेला परेका छन्। उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले बेपत्ताको खोजी, घाइतेको उपचार, राहत वितरण तथा विस्थापितको पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको छ।

You may also like