मोटरसाइकलसहित खोलामा खसेका पाल्पाका दुई युवा तीन दिनपछि मृत फेला

by समतल अनलाइन
72Shares

बुटवल । तीन दिनदेखि सम्पर्कविहीन रहेका पाल्पाका दुई युवा बुधबार मृत फेला परेका छन्। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढी जोगदमारका ३२ वर्षीय बिपिन पोखरेल र २३ वर्षीय प्रविन पुन रहेका छन्।

उनीहरू गत भदौ १५ गते साँझ करिब ६ बजे लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा रैनादेवी छहरा–८ स्थित सत्यवतीतर्फ गएका थिए। त्यसपछि घर नफर्किएपछि परिवारले भदौ १७ गते बिहान अस्थायी प्रहरी पोष्ट बेलबासमा जानकारी गराएको थियो।

सूचना पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो। खोजीका क्रममा रैनादेवी छहरा–७, बल्ढेङगढी डुम्रेवासस्थित ठाडाखोलामा उनीहरूले प्रयोग गरेको मोटरसाइकल फेला परेको थियो। मोटरसाइकल भेटिएपछि प्रहरीले सोही खोलाको तल्लो तटीय क्षेत्रमा खोजीलाई तीव्र बनाएको थियो।

खोजी गर्ने क्रममा रूपन्देहीको सैनामैना नगरपालिका–१०, मौवाघारीस्थित कञ्चन खोलामा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सत्यवतीतर्फ जाने क्रममा उनीहरू मोटरसाइकलसहित खोलामा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुवै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ।

You may also like