काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज मलेसियासँग खेल्दै छ । नेपाली समय अनुसार आज बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुदैछ ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । त्यस्तै मलेसियाले पनि आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।
त्यस्तै, नेपाल रहेको समुह ए मा नेपाल र मलेसियासहित हङकङले पनि आफ्नो पहिलो खेल जितेको छ । त्यस्तै साउदी अरेबियाले आफ्ना दुवै खेल गुमाएको छ भने बहराइनले पहिलो खेलमा हार बेहोरेको छ ।
नेपालले यसखेलपछि तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

