रसुवा बाढीका विभत्स तस्वीर–भिडियो नफैलाउन लुम्बिनी सरकारको आग्रह

by समतल अनलाइन
27Shares

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स तथा हृदयविदारक तस्वीर, भिडियो लगायतका सामग्री प्रसारण नगर्न नागरिकलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को १६औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा त्यस्ता सामग्री राखिएको भए तत्काल हटाउनसमेत आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणी पाण्डेले जानकारी दिए ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । मृतक, बेपत्ता तथा प्रभावित परिवारको संवेदनशीलतालाई ध्यानमा राख्दै घटनासँग सम्बन्धित विभत्स दृश्यको अनियन्त्रित प्रसार नगर्न सरकारले आग्रह गरेको हो ।

यस्ता सामग्रीको अनियन्त्रित प्रकाशन तथा प्रसारणले पीडित परिवार र सर्वसाधारणमा थप मानसिक पीडा पुग्न सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई संवेदनशीलता अपनाउन सरकारले अनुरोध गरेको छ ।

बैठकले रसुवा बाढीबाट लुम्बिनी प्रदेशमा परेको प्रभाव, विभिन्न जिल्लाका नागरिकको मृत्यु तथा बेपत्ताको अवस्था, खोज तथा उद्धारको प्रगति र पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदी किनारमा फेला परेका शवको व्यवस्थापनबारे समेत समीक्षा गरेको छ ।

You may also like