यस्ता छन् शुक्रबार बस्ने रास्वपाको केन्द्रीय समिति बैठकका एजेण्डा

by समतल अनलाइन
58Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । बैठक काठमाडौँको वनस्थलीस्थित घन्टीघर, केन्द्रीय कार्यालयमा बस्ने रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

बैठकमा पहिलो चरणमा दस्तावेजसम्बन्धी विषयमा छलफल हुनेछ । आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण गर्ने प्रस्ताव बैठकमा पेस हुने महामन्त्री आचार्यले बताए ।

त्यस्तै, संगठनात्मक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विभिन्न विषय बैठकको कार्यसूचीमा राखिएका छन् । केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनबारे छलफल तथा निर्णय हुनेछ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी प्रस्तावसमेत बैठकमा पेस हुनेछ ।

बैठकमा योजना, कार्यक्रम तथा अभियानसम्बन्धी विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव बैठकमा राखिनेछ ।

यस्तै, रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखेको छ । पार्टीका गतिविधि, विचार तथा नीतिगत विषयलाई नियमित रूपमा सार्वजनिक गर्ने उद्देश्यले उक्त पत्रिका प्रकाशन गर्ने प्रस्ताव गरिएको हो ।

ad

You may also like