बुटवल।रुपन्देहीमा बसोबास गर्दै आएका साविक बम्घाका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। शिविरमार्फत ज्येष्ठ नागरिकसहित ८१ जना सेवाग्राहीले विभिन्न सरकारी सेवा लिएका छन्।
रुरुक्षेत्र गाउँपालिका–५ नं. वडा कार्यालयको आयोजना तथा गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजको समन्वय र सहकार्यमा तथा तिलोत्तमा नगरपालिका–१ नं. वडा कार्यालयको स्थान सहयोगमा शनिबार तिलोत्तमा–१, ड्राइभरटोलस्थित वडा कार्यालयमा एकदिने शिविर सञ्चालन गरिएको हो।
शिविरमा साविक बम्घा क्षेत्रबाट रुपन्देहीमा बसोबास गर्दै आएका ५६ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका थिए। यस्तै, २५ जना सेवाग्राहीले जन्मदर्ता, मृत्युदर्ता, विभिन्न सिफारिसलगायतका प्रशासनिक सेवा लिएका थिए।
सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अन्य सरकारी कामका लागि मूल गाउँ फर्किनुपर्ने बाध्यता हटाउँदै नागरिक रहेकै स्थानमा सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले समय, खर्च र यात्राको झन्झट घटाउन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।
गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष हरिप्रसाद ज्ञवाली प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिका–१ का वडा अध्यक्ष फर्सुराम गिरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
शिविरमा रुरुक्षेत्र गाउँपालिका–५ का वडा सचिव गोविन्द पौडेलसहित कर्मचारीहरूको टोलीले विभिन्न सेवा प्रदान गरेको थियो। सेवाग्राहीलाई आवश्यक कागजात तथा प्रक्रियाबारे सहजीकरण गर्दै सेवा सहज र प्रभावकारी बनाइएको आयोजकले जनाएको छ।
कार्यक्रममा संस्थाका सल्लाहकार, पदाधिकारी तथा कार्यसमिति सदस्यसहित करिब १२० जनाको सहभागिता रहेको थियो। संस्थाका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सरोज ज्ञवालीले गरेका थिए।
रुपन्देहीमा बसोबास गरिरहेका साविक बम्घावासीलाई स्थानीय तहमार्फत उपलब्ध हुने सेवाका लागि टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले गरिएको उक्त प्रयासले घरदैलोमै सरकारी सेवाको अनुभूति दिलाएको आयोजकको दाबी छ।
सम्पर्क समाजले आगामी दिनमा पनि नागरिकको आवश्यकता र समस्यालाई ध्यानमा राख्दै यस्ता सेवामूलक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

