बुटवल।होटल तथा रेस्टुरेन्ट क्षेत्रमा कार्यरत सेफहरूको साझा संस्था रुपन्देही सेफ सोसाइटीको नाम परिवर्तन गरी ‘लुम्बिनी सेफ सोसाइटी’ नामकरण गर्ने निर्णय गरिएको छ। संस्थाको दोस्रो बैठकले नाम परिवर्तनसँगै अब नयाँ नामबाट संस्था दर्ता गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेशभरिका सेफहरूलाई एउटै संस्थागत छातामुनि आबद्ध गर्दै पाककला, सीप तथा व्यावसायिक दक्षताको विकास गर्ने उद्देश्यले संस्थालाई प्रदेशस्तरीय स्वरूप दिने तयारी गरिएको हो।
संस्थाको दोस्रो बैठक २०८३ शनिवार अध्यक्ष हिरा सोनीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकको सञ्चालन सचिव सन्दिप बयम्बुले गरेका थिए।
बैठकको मुख्य एजेन्डाका रूपमा संस्थाको विधानमाथि छलफल गरी पारित गरिएको छ। साथै संस्थालाई औपचारिक रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाउने र आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको छ।
बैठकले लुम्बिनी प्रदेशमा कार्यरत सेफहरूलाई संगठित गर्दै उनीहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि तथा पाककला क्षेत्रको प्रवर्द्धनमा संस्थाले भूमिका खेल्ने गरी आगामी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकमा सेफहरूको सीप विकासका लागि तालिम तथा प्रशिक्षण, पाककला सम्बन्धी कार्यक्रम, अनुभव आदानप्रदान तथा विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यरत सेफहरूबीच व्यावसायिक सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा छलफल भएको थियो।
लुम्बिनी सेफ सोसाइटीले संस्था दर्ता प्रक्रिया पूरा गरेपछि प्रदेशभरिका सेफहरूलाई आबद्ध गराउँदै पाककला क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

