आज देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
40Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक र पूर्वी भू–भागमा सरदर स्थान आसपास रहेको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भू–भागमा बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। मधेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने अनुमान छ।

देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली र तराई भू–भागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

You may also like