आदिवासी जनजाति प्रतिष्ठान खारेज गर्ने प्रयास स्वीकार्य छैन : रेशम गुरुङ

by समतल अनलाइन
58Shares

बुटवल । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान अध्यक्ष रेशम गुरुङले प्रतिष्ठान खारेज गर्ने नभई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए। ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले प्रतिष्ठान खारेज गर्ने प्रयास भए देशभरका आदिवासी जनजाति सडकमा उत्रिने चेतावनी दिए।

वर्तमान सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्न लागेको भन्दै उनले त्यसको विरोध गरे। प्रतिष्ठान खारेज गर्ने दुष्प्रयास गरिए सम्पूर्ण आदिवासी जनजाति एकजुट भएर आन्दोलनमा उत्रिने उनले बताए। देशभरका आदिवासी जनजाति सडकमा आए सरकारले समेत त्यसलाई थाम्न नसक्ने उनको भनाइ थियो।

गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि मात्रै आदिवासी जनजातिका अधिकार लिपिबद्ध भएको स्मरण गरे। संघीयता नागरिकलाई सेवा र सुविधा दिने व्यवस्था मात्र नभई अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम भएको उनले बताए।

“सेवा र सुविधा विकेन्द्रीकरणको माध्यमबाट दिन सकिन्छ। तर अधिकार विकेन्द्रीकरणको माध्यमबाट मात्र दिन सकिँदैन,” उनले भने, “त्यसैले संघीयताको महत्वलाई हामीले जोगाउनुपर्छ र अहिलेको सरकारलाई पनि यो कुरा आदिवासी जनजातिले बुझाउनुपर्छ।”

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने योजना रहेको बताए। सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको साझा थलोका रूपमा बुटवललाई विकास गर्ने गरी नगरपालिकाले बजेट छुट्याएको उनले जानकारी दिए।

बुटवल उपमहानगरपालिकाले आदिवासी जनजातिका संस्कार र संस्कृतिलाई सम्पत्तिका रूपमा लिएर संरक्षण तथा प्रवर्द्धनको काम गरिरहेको प्रमुख पाण्डेले बताए। नेपाली भाषाबाहेक अन्य जातजातिका भाषामा समेत नागरिक बडापत्र राख्ने बुटवल देशकै पहिलो पालिका भएको उनले उल्लेख गरे।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष आशा गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बुटवल उपमहानगरपालिका–४ का वडा अध्यक्ष नरेश्वर शर्मा, नेवा दय दबु जिल्ला अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ, महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर राई, तिलोत्तमा नगर अध्यक्ष गंगा सन्ज्याल, सचिव मीनबहादुर सारु, आदिवासी जनजाति युवा महासंघ रुपन्देहीका अध्यक्ष छवि रानालगायतले धारणा राखे।

कार्यक्रममा विभिन्न जातजातिका मौलिक गीत तथा नृत्य प्रस्तुत गरियो।

यसअघि बुटवलको राजमार्ग चौराहास्थित लखनचोकबाट विभिन्न जातजाति तथा भाषाभाषीका झाँकीसहित र्‍याली निकालियो। र्‍याली मिलनचोक, बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक हुँदै थकाली सेवा समाजको सभाहलमा पुगेर सभामा परिणत भयो।

You may also like