रुपन्देहीमा सेफहरू संगठित, हिरा सोनीको नेतृत्वमा रुपन्देही सेफ सोसाइटी गठन

by समतल अनलाइन
68Shares

बुटवल । रुपन्देहीमा विभिन्न होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरू संगठित भएका छन् । जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सेफहरूलाई एकजुट गर्दै आइतबार ‘रुपन्देही सेफ सोसाइटी’ गठन गरिएको हो ।

आइतबार बुटवलमा भएको सेफहरूको भेलाले हिरा सोनीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सोसाइटीको उपाध्यक्षमा कृष्ण तिवारी, सचिवमा सन्दिप बयम्बु, सहसचिवमा यादव पराजुली र कोषाध्यक्षमा विष्णु कुँवर चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा राजेन्द्र घिमिरे, देउखर्क आचार्य, वीरबहादुर सिन्जाली, मनोज थापा र भोजराज सापकोटा रहेका छन् ।

सोसाइटीको पहिलो बैठकले संस्थालाई आवश्यक सुझाव तथा मार्गदर्शनका लागि विभिन्न व्यक्तिहरूलाई सल्लाहकारसमेत चयन गरेको छ । सल्लाहकारमा राहुल राई, सन्तोष अर्याल, टेक विष्ट, एलबी कौशल, देवीलाल सोमई, नारायण पहराई, माधवकुमार खनाल, कृष्ण भण्डारी, खुमबहादुर बस्नेत र कृष्ण अधिकारी रहेका छन् । यस्तै प्रेस सल्लाहकारमा पत्रकार सन्त कुमार श्रेष्ठलाई चयन गरिएको छ ।

यसअघि भएको औपचारिक कार्यक्रममा इन्टरनेशनल नेप्लिज सेफ सोसाइटीका महासचिव तथा वरिष्ठ सेफ अनिल कुँवरले कार्यक्रमको उद्घाटन गर्दै नेपाली पाककला र नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

नेपाली सेफहरू क्षमता र दक्षताका हिसाबले उत्कृष्ट रहेको उल्लेख गर्दै कुँवरले आफ्नो कला, सीप र अनुभवलाई सामाजिक सञ्जालमार्फत विश्वसामु चिनाउन पनि आग्रह गरे । उनले नेपाली खानाको मौलिकता र पाककलालाई अन्तर्राष्ट्रिय फोरमसम्म पुर्‍याउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले सेफ पेशा आफैंमा महत्वपूर्ण र उत्कृष्ट पेशा भएको बताए । हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण मेरुदण्डका रूपमा सेफहरू रहेको उल्लेख गर्दै उनले होटल व्यवसायी र सेफबीच नङ र मासुको जस्तै सम्बन्ध हुने बताए ।

रुपन्देहीमा कार्यरत सेफहरूलाई एकजुट गर्दै संस्था स्थापना हुनु सकारात्मक कदम भएको भन्दै खनालले आगामी दिनमा सेफ सोसाइटीसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । सेफ एशोसिएसनको सिफारिसका आधारमा होटलमा रोजगारीको अवसर सिर्जना गर्नेसम्मको सहकार्य गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।

‘हामीले सेफहरूको सेफ गर्छौं ।’ खनालले भने । रुपन्देहीमा हस्पिटालिटी क्षेत्रमा पर्याप्त सम्भावना रहेको र त्यसलाई प्रमाणित गर्ने आधारसमेत सेफहरूको यो संगठनले तयार गर्ने उनले बताए ।

कार्यक्रममा सेफ कृष्ण तिवारीले आफ्नो तीन दशक लामो व्यावसायिक अनुभव सुनाउँदै सेफ पेशामा निरन्तर सिकाइ र मेहनत आवश्यक रहेको बताए । उनले सन् १९९५ मा भारतमा रेष्टुरेन्टबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको र त्यसपछि स्टार होटल हुँदै दुबईको सेभेन स्टार होटल तथा मरिससमा समेत काम गरेको अनुभव सुनाए । लामो समयको अन्तर्राष्ट्रिय अनुभवपछि पुनः नेपाल फर्किएर क्लब डेभेनोमा काम गरेको उनले जानकारी दिए ।

सेफका लागि विभिन्न परिकार र खानाको भेराइटीबारे राम्रो ज्ञान हुनु आवश्यक रहेको बताउँदै तिवारीले समयअनुसार नयाँ प्रविधि, परिकार र पाककलाका विषयमा निरन्तर ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए । ३० वर्ष लामो अनुभवबाट आफूले सिकेको कुरा सुनाउँदै उनले नयाँ पुस्ताका सेफहरूले पनि निरन्तर सिकाइलाई आफ्नो पेशाको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हिरा सोनी, खत्री ग्रुपका सञ्चालक विष्णु भुषाल तथा सेफ सन्तोष अर्यालले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले किचनको स्वच्छता, सुरक्षा र सेफको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका थिए ।

उनीहरूले गुणस्तरीय र स्वस्थकर खाना तयार गर्न सेफको दक्षतासँगै किचनको व्यवस्थापन, सरसफाइ र खाद्य सुरक्षामा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

रुपन्देहीमा सेफहरूका लागि साझा संस्था गठन भएपछि पेशागत हकहित, सीप विकास, रोजगारीका अवसर, तालिम तथा नेपाली मौलिक खानाको प्रवर्द्धनमा काम गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा रुपन्देहीका विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत ६० भन्दा बढी सेफहरूको सहभागिता रहेको थियो ।

You may also like