बुटवल । बुटवलमा यही साउन ३० गते युवा पुस्तामाझ चर्चित कवि तथा साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा ‘कविता कन्सर्ट’ हुने भएको छ । करियर गाइड इभेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
बुटवलको मिलनचोकस्थित होटल पालम इन्टरनेशनल सिटी सेन्टरमा दिउँसो २ः४५ बजेदेखि कार्यक्रम सुरु हुने करियर गाइड इभेन्टका सिइओ तथा कार्यक्रम संयोजक अर्जुन खरेलले जानकारी दिए ।
कविता लेखन तथा वाचन शैलीका कारण विशेष चर्चामा रहेका पराजुलीका अधिकांश कविता निजी जीवनका अनुभूति र संवेदनासँग जोडिएका छन् । उनका रचनाले युवा पुस्तालाई विशेष रूपमा आकर्षित गर्दै आएका छन् ।
पराजुलीको चर्चित काव्यकृति ‘सगरमाथाको गहिराइ’ले वि.सं. २०७३ मा पद्मश्री साहित्य सम्मान प्राप्त गरेको थियो । उनको प्रस्तुति कविता मन पराउने दर्शकमाझ मात्र नभई कविताप्रति सामान्य चासो राख्नेहरूका लागि समेत आकर्षणको केन्द्र बन्ने आयोजकको अपेक्षा छ ।
कार्यक्रमका लागि साधारणतर्फ प्रतिव्यक्ति ५ सय रुपैयाँ र भिआइपीतर्फ खानासहित १ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकले अनलाइनमार्फत समेत टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ ।

