भ्रामक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

by समतल अनलाइन
27Shares

भ्रामक सूचना तथा समाजमा द्वेष फैलाउने प्रकृतिका सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोले बुटवल उपमहानगरपालिका–१३ निवासी ३९ वर्षीय जनक भुसाललाई बुटवलबाट पक्राउ गरेको जनाएको छ।

ब्युरोका अनुसार भुसालले सञ्चालन गर्दै आएको ‘नेपाली खबर टीभी’ नामक युट्युब च्यानलमार्फत जातीय तथा धार्मिक सद्भावमा असर पुग्ने खालका भ्रामक सामग्री सार्वजनिक गर्दै आएका थिए।

प्रहरीको भनाइमा, उनले अफवाह फैलाउने उद्देश्यले भिडियो सामग्री तयार गरी जातीय तथा धार्मिक संवेदनशीलतालाई भड्काउने र हिंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने प्रयास गरेका थिए।

फलोअर्स वृद्धि र आर्थिक लाभको उद्देश्यले घृणा फैलाउने सामग्री निरन्तर प्रसारण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोले जनाएको छ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिएका छन्।

You may also like