नारायणगढ–मुग्लिङ सडकमा तीन मालवाहक सवारी ठोक्किए, ३ जना घाइते

by समतल अनलाइन
39Shares

चितवन। नारायणगढ–मुग्लिङ सडक खण्डमा ३ वटा मालवाहक सवारी एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

आइतबार बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सुविधानगरस्थित सडक खण्डमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

चितवन प्रहरीका अनुसार बागमती प्रदेश ०१–०२८ च ३४७९ नम्बरको योद्धा पिक अप गाडी, ना ४ प ५७६३ नम्बरको सामान बोक्ने सानो गाडी र भे १ क २३६२ नम्बरको मालवाहक आइचर ट्रक एक आपसमा ठोक्किएका हुन्।

प्रहरीका अनुसार बिहानको समयमा तीव्र गति र असन्तुलनका कारण तीन वटै सवारी साधन एक-आपसमा ठोक्किन पुगेका थिए।

दुर्घटनामा घाइते भएका तीन जनाको तत्काल उद्धार गरी भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने उनीहरूको थप उपचार भइरहेको छ।

दुर्घटना पछि ठोक्किएका गाडीहरू सडकमै अस्तव्यस्त अवस्थामा रहँदा केही समय नारायणगढ–मुग्लिङ सडक खण्डमा सवारी आवागमन केही बेर प्रभावित बनेको थियो। प्रहरी र स्थानीयको सहयोगमा दुर्घटनामा संलग्न सवारीसाधन सडकबाट हटाइएपछि यातायात पुनः सहज रूपमा सञ्चालन गरिएको छ।

दुर्घटना के-कसरी भयो (ओभरटेक, अनियन्त्रित गति वा प्राविधिक खराबी) भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय चितवनले सवारी चालकहरूसँग सोधपुछ गर्नुका साथै घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

You may also like