नेपाल नामिबियासँग ८ विकेटले पराजित

by समतल अनलाइन
48Shares

काठमाडौँ। नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा हार व्यहोरेको छ।

नेपाली टोलीले सिरिजको पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो हार भोगेको हो।नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

जान फ्राइलिंक ७८ र जान निकोल लफ्टी इटोन १७ रनमा अविजित रहे। जान फ्राइलिंकले ८९ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

ओपनर माइकल भान लिंगेन ५१ रन बनाउँदा कप्तान रोहित पौडेलको बलमा बोल्ड आउट भए।

अलेक्जेन्डर बुसिङ–भोल्शेन्क २ रनमा क्याच आउट भए। नेपालका लागि नन्दन यादव र रोहित पौडेल समान एक विकेट लिए।

त्यसअघि नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उपकप्तान दिपेन्द्रसिंह ऐरिले ३० रन थपे।

गुल्सन झा २० रन बनाउँदै पेभेलियन फर्के। करण केसीले १८, आशिफ शेखले १६, सोमपाल कामीले १५ रन थपे।

इशान पाण्डे ८, कुशल भुर्तेल २, नन्दन यादव १ र आरिफ शेख शून्य रनमै आउट भए।

नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न जेजे स्मितले सर्वाधिक ६ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ६ विकेट लिए। ज्याक ब्रासेल र बर्नार्ड शोल्ट्जले समान २ विकेट लिए।

सिरिजको दोस्रो खेलमा नेपालले बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ। आगामी सोमबार नामिबियासँग र सिरिजको अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्सँग खेल्ने तालिका छ।

You may also like