कपिलवस्तु ।कपिलवस्तु नगरपालिका–५ बभनीमा खेत जोत्ने क्रममा मध्यकालीन तामाका सिक्कासहितको करुवा फेला परेको छ। प्रारम्भिक अध्ययनअनुसार उक्त पुरातात्विक सामग्री १२औं–१३औं शताब्दीको हुन सक्ने अनुमान गरिएको छ।
स्थानीय कृषक राजाराम यादवले खेतमा काम गरिरहेका बेला तामाको करुवा भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय, स्थानीय जनप्रतिनिधि र कपिलवस्तु संग्रहालयको टोली घटनास्थल पुगेर उक्त सामग्री संकलन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार भेटिएका पुरातात्विक सामग्री थप अध्ययन र संरक्षणका लागि कपिलवस्तु संग्रहालयलाई हस्तान्तरण गरिएको छ।
कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माले करुवाभित्र रहेका तामाका सिक्काको गणना र अध्ययन भइरहेको जानकारी दिइन्। उनका अनुसार हालसम्म करुवाभित्रबाट अरबी लिपि अंकित दुई हजार ३१४ वटा तामाका सिक्का फेला परिसकेका छन्।
उनले प्रारम्भिक अध्ययनका आधारमा करुवा र सिक्का मध्यकाल, अर्थात् करिब १२औं–१३औं शताब्दीका हुन सक्ने अनुमान गरिएको बताइन्। करुवाको उचाइ करिब २३ सेन्टिमिटर रहेको छ भने यसभित्र रहेका सिक्काको ऐतिहासिक महत्वबारे थप अनुसन्धान गरिने संग्रहालयले जनाएको छ।
पुरातत्त्वविद्हरूका अनुसार यस्तो प्रकृतिका पुरातात्विक सामग्रीले त्यसबेलाको आर्थिक, सांस्कृतिक तथा व्यापारिक गतिविधिबारे महत्वपूर्ण जानकारी प्रदान गर्न सक्ने भएकाले विस्तृत अध्ययन आवश्यक रहेको छ।

