कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ , चन्द्रौटामा शनिबार सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३, चन्द्रौटा खसी बजारमा अगाडी कारले अन्य दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिएकाे हाे।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १४ च ९००० नम्बरको कारले विद्यार्थीहरू सवार रहेकाे रा १ ह ६६४३ र लु १ ह १९३ नम्बरका ई–रिक्सा तथा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियाे ।
उक्त कारले चन्द्रौटास्थित सशस्त्र प्रहरी चेकपोस्ट नजिक एक साइकललाई समेत ठक्कर दिएको बताएको छ ।
सवारी दुर्घटनामा घाइते भएका मध्ये ६ जनाको अवस्था सामान्य रहेको छ भने अन्य ७ जनाको शिवराजस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते नभए पनि केहीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको बताइएकाे छ ।
प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

