बुटवल। सामाजिक सेवालाई संस्थागत, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यका साथ गौतम बुद्ध मानव सेवा केन्द्र, रूपन्देही ले बुटवल उपमहानगरपालिका–६, चाँदबारी (एकतापथ) स्थित आफ्नो कार्यालयको औपचारिक उद्घाटन गर्दै बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष विक्रम तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मानव सेवाप्रतिको समर्पण र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पानसमा दीप प्रज्वलन गरी तथा कार्यालयको होर्डिङ बोर्डको पर्दा अनावरण गर्दै कार्यालयको उद्घाटन गर्नुभयो। उहाँले सामाजिक सेवामा सक्रिय संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै केन्द्रको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा बुटवल–६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल–३ का वडा अध्यक्ष विष्णु ढकाल, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थापक सदस्य मोहनविक्रम जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक रामप्रसाद शर्मा सापकोटाले गर्नुभएको थियो।
नेपाल नियमित रक्तदाता केन्द्रीय समितिको समन्वयमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको संस्थाले जनाएको छ। संकलित रगतले आवश्यक परेका बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको समापनमा संस्थाले रक्तदाता, अतिथिवर्ग, सहयोगी संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रमसम्बन्धी जानकारी केन्द्रका कार्यक्रम संयोजक रामप्रसाद शर्मा सापकोटाले उपलब्ध गराउनुभएको हो।

