काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार

by समतल अनलाइन
58Shares

काठमाडौँ।काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ–१० बुद्धनगरस्थित एक घरम डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले आज बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार राउतका बाबुछोराबीच घरायसी विषयमा विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए ।

शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यसअघि बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस्तै, शुक्रबार नै सर्लाहीमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए । विवेक मण्डल नाम गरेका ती व्यक्तिलाई हेलिकप्टरमार्फत हिजो नै काठमाडौँ ल्याइएको थियो ।

You may also like