सरकारको संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिने गगन थापाको दाबी

by समतल अनलाइन
30Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारद्वारा गठित संविधान संशोधन बहस कार्यदल अन्ततः असफल हुने कुरा आफूहरूलाई पहिले नै जानकारी रहेको खुलासा गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कार्यदलको भविष्यबारे वैशाख महिनामै अनुमान भइसकेको बताए ।

थापाका अनुसार अहिले ढिलै भए पनि विभिन्न राजनीतिक दलहरूले कार्यदलबाट आफ्ना प्रतिनिधिहरू फिर्ता बोलाइरहेका छन् । यो परिस्थिति निर्माण हुने पूर्वसंकेत पाएर नै कांग्रेसले उक्त सरकारी कार्यदलमा आफ्नो तर्फबाट कोही पनि नपठाएको उनले स्पष्ट पारे । बरु कांग्रेसले वैशाख महिनादेखि नै पार्टीभित्र र बाहिरी दलहरूसँग संविधान परिमार्जनका विषयमा आन्तरिक गृहकार्य तीव्र बनाएको उनले उल्लेख गरे ।

संविधान परिमार्जनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेसले सुरुवाती चरणदेखि नै दुईवटा स्पष्ट मार्गचित्र अघि सार्दै आएको थापाले जानकारी दिए । उनले भने, ‘संविधान संशोधनको कार्यलाई व्यवस्थित गर्न सर्वोच्च अदालतका बहालवाला वा सेवानिवृत्त न्यायाधीश र विज्ञहरूको सहभागितामा एउटा उच्चस्तरीय समिति गठन गरेर काम थाल्न सकिन्छ, अथवा वर्तमान संसद्भित्रैबाट एउटा विशेष समिति निर्माण गरेर अघि बढ्न उपयुक्त हुन्छ ।’

यी दुई विकल्पले मात्रै संविधान संशोधनको संवेदनशीलता र गम्भीरतालाई झल्काउने दाबी गर्दै उनले प्रक्रियागत रूपमा प्राथमिकता तोकिनुपर्नेमा जोड दिए ।

संशोधनको चरणबद्ध प्रक्रियाबारे खाका प्रस्तुत गर्दै थापाले पहिलो चरणमा संविधानले नै १० वर्षभित्र पुनरावलोकन गर्नुपर्ने भनी किटान गरेका विषयहरूमा मात्रै हात हाल्नुपर्ने धारणा राखे ।

यो प्रारम्भिक कदमले राजनीतिक दलहरूबीच आपसी शंका निवारण गरी विश्वासको वातावरण निर्माण गर्ने उनको बुझाइ छ । त्यसपछि मात्रै दोस्रो चरणमा शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता गम्भीर र जटिल विषयहरूमा प्रवेश गर्नुपर्ने सुझाव उनले दिएका छन् ।

सजगता नअपनाई सबै विषयहरू एकैपटक उल्ट्याउन खोजिए मुलुक थप अस्थिरतातर्फ धकेलिने चेतावनी पनि उनले दिएका छन् । उनले भनेका छन्, ‘यदि सबै कुरा एकैचोटि खोल्दिने हो भने नेपाल अझ ठूलो आगोको भुंग्रोमा पस्नेछ ।’

You may also like