‘लुम्बिनी वास्तु सम्मेलन’ आयोजना हुंदै,५ सयभन्दा बढीको सहभागीता रहने

by समतल अनलाइन
28Shares

बुटवल ।दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिले सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ आयोजना गर्ने भएको छ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समितिका प्रवक्ता विवेक शर्माले नेपालमा वास्तु केवल घर निर्माणको विधि नभई प्रकृति, ऊर्जा, संस्कृति र मानव जीवनबीच सन्तुलन कायम गर्ने प्राचीन ज्ञान प्रणाली भएको बताए । उनले नेपालका मठ–मन्दिर, धार्मिक सम्पदा, पुराना दरबार तथा परम्परागत संरचनामा वास्तु ज्ञानको गहिरो प्रभाव रहेको उल्लेख गरे ।

‘सनातन वास्तु परम्पराको संरक्षण र प्रवर्द्धन’ भन्ने मूल नाराका साथ असार २८ गते आयोजना हुने सम्मेलनमा वास्तुसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने, विशेषज्ञबीच अन्तरक्रिया सञ्चालन गरिने, वास्तु क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिने तथा ‘लुम्बिनी घोषणा–पत्र’ जारी गरिने प्रदेश सभापति चुरामणि पाण्डे (कान्छो ज्योतिष)ले जानकारी दिए ।

महासंघका महासचिव बद्रिप्रसाद भट्टराईका अनुसार सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्व, वास्तुविद्, ज्योतिषाचार्य, इन्जिनियर, आर्किटेक्ट, निर्माण व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित ५ सयभन्दा बढीको सहभागिता रहनेछ।

आयोजकका अनुसार विश्वमै आध्यात्मिक पहिचान बनाएको लुम्बिनीबाट वास्तु, संस्कृति र सभ्यता संरक्षणको सन्देश प्रवाह गर्दै सनातन वास्तु परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।

मणिग्रामस्थित विश्राम बाटिकामा हुने सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ। साथै आयोजकले सम्मेलनको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको सक्रिय सहयोगको अपेक्षा पनि गरेको छ।

You may also like