काठमाडौँ।देशभर मनसुन वायुको प्रभाव सक्रिय रहेसँगै आज पनि मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, कोशी र लुम्बिनी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ। दिउँसो पहाडी र हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा समेत चट्याङसहित वर्षाको सम्भावना कायमै छ।
त्यस्तै, रातिको समयमा पनि कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी र तराईका क्षेत्रमा मध्यम वर्षा र हिमपातको क्रम जारी रहने देखिन्छ।
महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा ‘भारी वर्षा’ को सम्भावना औंल्याएको छ। भारी वर्षाका कारण उक्त क्षेत्रमा हुन सक्ने प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

