मन्त्री गौरी यादवको कडा निर्देशनपछि नयाँ कानून, पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना र १५ दिन इन्धन आपूर्ति बन्द

by समतल अनलाइन
46Shares

काठमाडौ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलपम्प बन्द गर्ने व्यवसायीमाथि कडा कारबाहीको कानुनी व्यवस्था गरेको छ। अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गरे तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने भएको छ।

मंगलबार पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार बिहानदेखि देशभर पेट्रोल र डिजेलको आपूर्तिमा असहज अवस्था देखिएको थियो। कतिपय पेट्रोलपम्पमा सवारी चालकको भीड लाग्नुका साथै केही स्थानमा इन्धन अभावको स्थिति समेत सिर्जना भएको थियो।
अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा तत्काल कारबाही गर्ने स्पष्ट कानुनी आधार नभेटिएपछि मन्त्री यादवले बुधबार साँझ नै नयाँ व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। त्यसलगत्तै नेपाल आयल निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, २०७५ संशोधन गरेको हो।

संशोधित व्यवस्थाअनुसार बिनियमावलीको दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने प्रावधान थपिएको छ।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का हुनेछ। दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक पनि उही कसुर गरे १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ।

यो व्यवस्थासँगै अब कुनै पनि पेट्रोलपम्पले उचित कारणबिना सेवा बन्द गरेर कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीको सामना गर्नुपर्ने भएको छ। नेपाल आयल निगमले यस कदमले देशभर इन्धन आपूर्ति प्रणालीलाई नियमित, सहज र उपभोक्तामैत्री बनाउन मद्दत पुग्ने विश्वास लिएको छ।

You may also like