रुपन्देहीको रोहिणी नदीमा दुई बालक डुबे ,एकको मृत्यु, अर्काको खोजी जारी

by समतल अनलाइन
68Shares

मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुबेका छन्। घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक अझै बेपत्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब ९ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ करिब ६:३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका हुन्।

मोहर्रम पर्वका अवसरमा ताजिया विसर्जन गर्न ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएका बेला दुवै बालक मुख्य विसर्जनस्थलबाट करिब ७०० मिटर टाढा नदीमा नुहाउन तथा पौडी खेल्न गएका थिए।

प्रहरीले खोजीका क्रममा आकाश पासीलाई नदीबाट उद्धार गरी उपचारका लागि भीम अस्पताल, भैरहवा पुर्‍याएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए।

घटनामा बेपत्ता भएका अरमान पठानको खोजी कार्य भने अझै जारी रहेको छ। इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीको सहयोगमा खोजी तीव्र पारिएको छ।

You may also like