भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज (गणेश) पौडेलको उपस्थितिमा धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरिएको हो। कार्यक्रममा भुटानी लामागुरुहरूले भूमि पूजनसहित विशेष धार्मिक अनुष्ठान सम्पन्न गरेका थिए।
भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु हुनु भुटानका लागि ऐतिहासिक उपलब्धि भएको बताइन्। उनका अनुसार यस परियोजनाले भुटानी बौद्ध परम्परा, संस्कृति र वास्तुकलालाई बुद्धको जन्मभूमिसँग जोड्नेछ।
उनले गत वर्ष भुटान सरकार र लुम्बिनी विकास कोषबीच भएको समझदारीअनुसार चालु वर्षमै निर्माण सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गरिएको जानकारी दिइन्। परियोजनाको पहिलो चरणअन्तर्गत परिसरको सीमा पर्खाल निर्माण सम्पन्न भइसकेको छ भने अब मुख्य गुम्बा निर्माणको काम अघि बढाइएको छ। सम्पूर्ण निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रस्तावित गुम्बामा भुटानी मौलिक वास्तुकला, धार्मिक कला र सांस्कृतिक विशेषतालाई समेटिनेछ। त्यहाँ प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी स्थल तथा विभिन्न धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिने योजना छ।
महानिर्देशक ओजीले गुम्बा निर्माण सम्पन्न भएपछि लुम्बिनी आउने विश्वभरका बौद्ध तीर्थयात्री तथा पर्यटकहरूले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्ने विश्वास व्यक्त गरिन्। उनले लुम्बिनीलाई अझ अन्तर्राष्ट्रिय तथा बहुसांस्कृतिक बौद्ध केन्द्रका रूपमा स्थापित गर्न यस परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने बताइन्।
पर्यटन सहकार्य विस्तारमा नेपाल–भुटानको जोड
गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबीच पर्यटन, सांस्कृतिक आदानप्रदान तथा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको हो।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार नेपालले वार्ताका क्रममा दुई महत्वपूर्ण प्रस्ताव अघि सारेको थियो। पहिलो, भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई सेवा सञ्चालन गर्ने, र दोस्रो, पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट विकास गर्ने।
नेपालले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा प्रत्यक्ष हवाई सञ्जालसँग जोड्न आवश्यक रहेको धारणा पनि राखेको थियो।
यसैगरी, भुटानले विदेशी पर्यटकमाथि लागू गर्दै आएको दिगो विकास शुल्क (एसडीएफ) सम्बन्धमा पनि नेपाली पक्षले चासो व्यक्त गरेको थियो। हाल नेपाली नागरिकले भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था रहेको भन्दै नेपालले उक्त शुल्क हटाउन वा विशेष सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ। भारत र बङ्गलादेशका नागरिकका लागि छुट्टै व्यवस्था रहेको उदाहरण प्रस्तुत गर्दै नेपाली पर्यटकलाई पनि सहज पहुँच दिनुपर्ने प्रस्ताव नेपालले राखेको हो।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालका प्रस्तावहरूलाई सकारात्मक रूपमा लिएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता जनाए। उनले लुम्बिनीमा भुटानी गुम्बा निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको जग्गा तथा सहयोगप्रति भुटान सरकारका तर्फबाट आभारसमेत व्यक्त गरे।
भेटवार्तामा नेपालका तर्फबाट सांसद तौफिक अहमद खाँन, सांसद कन्हैया बनिया, लुम्बिनी विकास कोषका पदाधिकारी तथा भुटानका लागि नेपालस्थित राजदूत मेजर जनरल भेत्सोप नामग्येलसहित दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो


