हामी घण्टी बजाउने भिक्षु होइनौं, क्रान्तिकारी हौं; मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस्: प्रचण्ड

by समतल अनलाइन
37Shares

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग अहिले पार्टी एकता नभए पनि संसद्, सडक र आगामी निर्वाचनमा कार्यगत एकता गरेर अघि बढ्ने स्पष्ट पारेका हुन्।

संयोजक दाहालले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रिया तीव्र बनाइने र एमालेसँग कार्यगत सहकार्य गरिने जानकारी दिए। उनले भने, ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ। संसद्मा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश तथा स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ।’ संसद्मा एउटा सशक्त वामपन्थी शक्तिका रूपमा उपस्थित हुन यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको टिप्पणीलाई सामान्य रूपमा लिएका दाहालले कार्यकर्ताहरूलाई साहसी भएर अघि बढ्न आग्रह गरे। आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको जिकिर गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने चेतावनी दिए।

उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने,’हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ। महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्। नहिचकिचाइकन, नडराइकन र भ्रममा नपरीकन अगाडि आउनुहोस्। प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस्।’

You may also like