रास्वपाको केन्द्रीय सदस्यको लागि मतदान आज

by समतल अनलाइन
48Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।

महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् ।

यसअघि मंगलबार एक मात्र उम्मेदवारी परेपछि रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् ।

आज पहिलो चरणमा ९९ केन्द्रीय सदस्यकोलाई मतदान हुने र यसका लागि करिब ८ घण्टा लाग्ने बताइएको छ । मतदान सम्पन्न भएको २ घण्टामा नतिजा सार्बजनिक गर्ने आयोगले जनाएको छ । त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरु मात्र उम्मेदवार बन्न पाउने गरि दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने छ ।

रास्वपाको यस प्रथम महाधिवशेनले १५८ सदस्यीय कार्यसमिति चयन गर्दैछ । जसमा १९ जना पदाधिकारी रहनेछन् । सभापति एक जना, वरिष्ठ नेता एक जना, उपसभापति कम्तिमा एक महिलासहित तीन जना, महामन्त्री दुई जना, सहमहामन्त्री कम्तीमा एक महिलासहित पाँच जना, कोषाध्यक्ष एक जना, सहकोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सहप्रवक्ता तीन जनाको पदाधिकारी रहने छ । त्यस्तै सात प्रदेशका सभापति स्वत: केन्द्रीय सदस्य हुने नयाँ विधानमा व्यवस्था गरिएको छ ।

जस अनुसार ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जान सभापतिबाट मनोनीत गरिने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा एक सभापतिसहित ९९ केन्द्रिय सदस्यको निर्वाचन हुने छ । त्यसपछि दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ । त्यस्तै १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता सभापतिले मनोनीत गर्ने नयाँ विधानमा व्यवस्था गरिएको छ । त्यस्तै वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहलाई निर्बिरोध गरिने र यसका लागि निर्वाचन नहुने भएको छ ।

You may also like