काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।
हाल देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। साथै कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर (हीट वेभ) को अवस्था कायम रहने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि अत्यधिक गर्मी अर्थात् तातो दिन रहने अनुमान गरिएको विभागले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने विभागको पूर्वानुमान छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।


