रास्वपा महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने

by समतल अनलाइन
47Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने छन् ।

भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोह स्थललाई रवि र बालेनको तस्बिरसहित सजाइएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार, महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको छ ।

महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए ।

महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि हुनेछन् ।

You may also like