बुटवल। लियो क्लब अफ बुटवलले बुटवल–१३ बदेलपोखरीस्थित जितेश्वरी माध्यमिक विद्यालय मा शुद्ध पिउनेपानीको पहुँच सहज बनाउन नयाँ धारा निर्माण गरी विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेको छ।
क्लबका गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको उक्त धाराको एक कार्यक्रमबीच औपचारिक हस्तान्तरण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने उद्देश्यले धारा निर्माण गरिएको क्लबले जनाएको छ।

हस्तान्तरण कार्यक्रममा लियो डिष्ट्रिक परिषद् ३२५ पी नेपाल का डिष्ट्रिक अध्यक्ष तथा लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका पूर्व अध्यक्ष श्रीधर बस्याल ले युवाको सक्रियतामा सञ्चालन हुने यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए। उनले समाजका आवश्यकतालाई मध्यनजर गर्दै परोपकारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी, सह–संयोजक लक्ष्मण खनाल र विशाल खनाल, पूर्व अध्यक्ष तथा एरिया चिफ जीवन थापा क्षेत्री, समाजसेवी कमल सापकोटा र सरु थापा लगायतले युवाको सामाजिक उत्तरदायित्वले समुदाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवाली ले विद्यालयलाई प्राथमिकतामा राखी स्वच्छ पिउनेपानीको व्यवस्था गरिदिएकोमा क्लबप्रति आभार व्यक्त गरे। उनले यसबाट विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए।
कार्यक्रममा क्लबका अध्यक्ष अशोक कुमार श्रेष्ठ ले युवालाई सामाजिक सेवामा जोड्दै समुदायको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्न क्लब निरन्तर सक्रिय रहेको जानकारी दिए। उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामुदायिक विकाससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिइने बताए।


