काठमाडौँ।प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सांसदहरूले बजेटमा करका दर हेरफेर र भन्सारमा भइरहेको गम्भीर अनियमितताबारे प्रश्न उठाउँदै उच्चस्तरीय संसदीय छानबिनको माग गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओली, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई, नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र शाही, नेकपा एमालेका सांसद यज्ञ बहादुर बोगटी र सांसद गणेश ठङ्गुनाले यस विषयमा संसदीय उपसमिति बनाएर सूक्ष्म छानबिन गर्नुपर्ने संयुक्त प्रस्ताव राखेका हुन्।
बैठकमा वि.सं. २०८० देखिको तथ्याङ्क प्रस्तुत गर्दै सांसद ओलीले भन्सार र यातायात व्यवस्था विभागको मिलेमतोमा ७-८ सिट भएका ७७४ भन्दा बढी गाडीहरूलाई ११ सिटको कायम गरी ३० प्रतिशत लाग्ने भन्सारको सट्टा १० प्रतिशत मात्रै तिरेर अर्बौँको राजस्व चुहावट गरिएको दाबी गरिन्। मन्त्रालयको आन्तरिक छानबिनमाथि विश्वास नभएको भन्दै उनले लेखा समितिले नै छुट्टै उपसमिति बनाएर ६ महिनाभित्र सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेकी छन्।
सांसद ओलीको प्रस्तावलाई दृढ समर्थन गर्दै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले देशमा इमानदारीपूर्वक कर तिर्छु भन्दा पनि बिचौलिया र कर्मचारीलाई घुस खुवाउनुपर्ने अवस्था रहेको भन्दै आक्रोश व्यक्त गरे। त्यस्तै, नेकपा एमालेका सांसद यज्ञ बहादुर बोगटीले अर्थ मन्त्रालयले बनाएको समिति पूर्ण नभएको टिप्पणी गर्दै लेखा समितिले नै छानबिन अघि बढाउनुपर्नेमा जोड दिए भने सांसद महेन्द्र शाही र गणेश ठङ्गुनाले पनि विगतमा समेत यस्ता गम्भीर विषय उठ्ने गरेको नजिर प्रस्तुत गर्दै संसद्बाटै अधिकारसम्पन्न उपसमिति गठन गरेर राजस्व चुहावटको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरे।




