बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको रहस्य खुल्यो, सञ्चालक नै मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष

by समतल अनलाइन
209Shares

बुटवल। बुटवलको प्रमुख व्यापारिक क्षेत्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको कथित चोरीको घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा सुनका गरगहना चोरी भएको दाबी गरिएको घटनामा पसल सञ्चालक स्वयं नै मुख्य योजनाकार रहेको तथ्य प्रहरी अनुसन्धानबाट सार्वजनिक भएको छ।

रुपन्देही प्रहरीका अनुसार पसल सञ्चालक दिपक विक (सेन्चुरी) ले बीमा रकम दाबी गर्ने तथा ग्राहक र अन्य पसलले धितोमा राखेका सुनका गरगहनाको जिम्मेवारीबाट उम्किने उद्देश्यले योजनाबद्ध रूपमा चोरीको नाटक रचेका थिए।

गत जेठ १७ गते भएको उक्त घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय को संयुक्त टोली खटिएको थियो। विस्तृत अनुसन्धानपछि सञ्चालक विक नै घटनाका मुख्य दोषी रहेको निष्कर्षमा पुगेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

प्रहरीका अनुसार दिपक विकले आफ्नै पसलमा कार्यरत कर्मचारी नविन विक सँग मिलेर चोरीको योजना बनाएका थिए।

यसरी बनाइयो चोरीको योजना

अनुसन्धानबाट खुलेअनुसार घटनाको अघिल्लो दिन अर्थात् जेठ १६ गते दिपक विकले पोखरा घुम्न जाने बहाना बनाएका थिए। भोलिपल्ट बिहान करिब १० बजे तिनाउ सुनचाँदी पसलमा चोरी भएको सूचना ईलाका प्रहरी कार्यालय बुटवलमा पुगेको थियो।

स्थानीय व्यवसायी तथा छिमेकीले बिहान पसलको सटर खुला देखेपछि सञ्चालक र आफन्तलाई खबर गरेका थिए। त्यसबेला सञ्चालक विक आफू पोखरामा रहेको दाबी गरिरहेका थिए।

अमरपथजस्तो व्यस्त तथा संवेदनशील व्यापारिक क्षेत्रमा भएको यो घटनाले प्रहरीलाई सुरुदेखि नै गम्भीर बनाएको थियो। प्रहरी प्रारम्भिक अनुसन्धानमा पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुन तथा गरगहना हराएको अनुमान गरिएको थियो।

घटनास्थलमै देखिए शंकास्पद संकेत

अनुसन्धानका क्रममा घटनास्थल पुगेको प्रहरी टोलीले पसलभित्र ठूलो चाबीको झुप्पा फेला पारेको थियो। पसलभित्र रहेका दुईमध्ये सुनका गरगहना राखिएको लकर खुला अवस्थामा भेटिएको थियो भने सुनका सामग्री गायब थिए।

तर पसलको बाहिरी सटर र भित्री च्यानल गेटमा कुनै तोडफोड नगरी चोरी भएको देखिएपछि प्रहरीले घटनालाई थप सूक्ष्म रूपमा अनुसन्धान थालेको थियो।

१५० भन्दा बढी सीसीटिभी फुटेजको अध्ययन

प्रहरीले अनुसन्धानका क्रममा बुटवलका विभिन्न स्थानमा जडान गरिएका १५० भन्दा बढी सीसीटिभी फुटेजको अध्ययन गरेको थियो।

सीसीटिभी फुटेजअनुसार जेठ १६ गते साँझ पोखरा गएको दाबी गरेका दिपक विक आफ्नै कर्मचारी नविन विकसँग बुटवलकै एक होटलमा बसेर योजना बनाइरहेका देखिएका छन्।

प्रहरीका अनुसार उनीहरू राति करिब साढे ९ बजेसम्म होटलमा थिए। त्यसपछि राति १२ बजेपछि दिपक विक आफ्नै पसलभित्र प्रवेश गरेको फुटेजमा देखिएको छ। उनी करिब साढे दुई घण्टा पसलभित्र बसेपछि सुन तथा गरगहना रहेको झोला बोकेर राति करिब साढे २ बजे बाहिर निस्किएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि उनी झोला बोकेर तिनाउ पुल हुँदै पूर्व–पश्चिम राजमार्ग पार गर्दै गोलपार्क र सिद्धबाबा क्षेत्रसम्म पुगेको दृश्यसमेत विभिन्न सीसीटिभी फुटेजमा कैद भएको प्रहरीले जनाएको छ।

आर्थिक संकटबाट बच्न रचियो चोरीको नाटक

प्रहरी अनुसन्धानका क्रममा दिपक विकले आफ्नो पारिवारिक तथा आर्थिक समस्याका कारण घटना गराएको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार ग्राहक तथा अन्य पसलहरूले धितोमा राखेका सुनका गरगहना उनले विभिन्न समयमा बिक्री गरेर खर्च गरिसकेका थिए। पछिल्लो समय सुनको मूल्य उल्लेख्य रूपमा बढेपछि ती गरगहना पुनः खरिद गरेर फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका थिए।

यस्तै, पसलको बीमा दाबीमार्फत रकम प्राप्त गर्ने र धितोमा राखिएका सुनसम्बन्धी जिम्मेवारीबाट बच्ने उद्देश्यले उनले चोरी भएको नाटक रचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न दिपक विक र सहयोगी नविन विकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

You may also like

This will close in 0 seconds