काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।
हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
विभागका अनुसार मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा आज तातो दिन रहने सम्भावना छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।


