बुटवल। पत्रकारहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी १० दिने तालिम सुरु गरिएको छ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीद्वारा आयोजित तालिमको आइतबार एक समारोहबीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेयले नयाँ प्रविधि र ज्ञान हरेक पेशाका व्यक्तिका लागि आवश्यक रहेको बताए। विशेषगरी सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि एआईसम्बन्धी ज्ञान अझ महत्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले एआई प्रविधिको अधिकतम उपयोग गर्दै यसबाट उत्पन्न चुनौतीलाई व्यावसायिक अवसरका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारअन्तर्गत सूचना तथा सञ्चार प्रतिष्ठानका संयोजक तथा फोनिजका केन्द्रीय सचिव मिलन गाहा र नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेले तालिमको महत्वबारे प्रकाश पारेका थिए।
फोनिज रुपन्देहीका अध्यक्ष मीन रानाका अनुसार तालिममा श्रव्यदृश्य सम्पादन, पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रयोग, खोजमूलक समाचार लेखन, तथ्य तथा तथ्याङ्कको प्रभावकारी उपयोगलगायत विषयमा विभिन्न प्रशिक्षकहरूले सहजीकरण गर्नेछन्।


