मौसमको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
35Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बाँकी तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
विभागले मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

You may also like