फिजिकल फिटनेश सेन्टर लगातार दोस्रो पटक डोरी तान च्याम्पियन

by समतल अनलाइन
36Shares

बुटवल।लोपोन्मुख तथा परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा आयोजित दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिताको उपाधि फिजिकल फिटनेश सेन्टरले जितेको छ।

रामनगरस्थित रामनगर खेल मैदानमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा फिजिकल फिटनेश सेन्टरले बुटवल फिटनेशलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो।

उपाधिसँगै फिजिकल फिटनेश सेन्टरले नगद ६० हजार ६६६ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको बुटवल फिटनेशले नगद ३० हजार ३३३ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो। त्यसैगरी, योर्स मल्टि फिटनेश टिम तृतीय हुँदै नगद १५ हजार १११ रुपैयाँसहित सम्मानित भएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई आयोजित पुरस्कार वितरण समारोहमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, नेकपा एमाले प्रदेश समिति सदस्य बाबुराम भट्टराई, रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष माधव खनाललगायतले पुरस्कार प्रदान गरेका थिए।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा खेल गतिविधिलाई निरन्तरता दिँदै परम्परागत खेलहरूको संरक्षणमा विशेष ध्यान दिइएको बताए। उनले डोरी तानजस्ता ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्व बोकेका खेलहरूको विकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्दै आएको उल्लेख गरे।

नगरप्रमुख पाण्डेयले परम्परागत तथा लोकप्रिय खेलहरूको नियमित आयोजना गर्दै बुटवललाई खेलकुदमैत्री नगरका रूपमा स्थापित गर्ने प्रयास भइरहेको पनि बताए।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा सम्पन्न दुईदिने प्रतियोगितामा जिल्लाका १५ भन्दा बढी टोलीको सहभागिता रहेको महासंघका सदस्य इप्पल भण्डारीले जानकारी दिए।

परम्परागत खेलप्रति युवापुस्ताको आकर्षण बढाउँदै खेल संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजित प्रतियोगिताले डोरी तान खेलको लोकप्रियता विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

You may also like