ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

by समतल अनलाइन
11Shares

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले आफ्नो पार्टी नेतृत्वको सरकारले देश विकास गर्ने कुरामा ढुक्क रहन आम नागरिकलाई आग्रह गरेका छन्। चितवनको भरतपुरमा शनिबार आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले चुनावी वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट ल्याइएकाले जनतासँग गरिएका प्रतिबद्धताहरू पूरा गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

सम्बोधनका क्रममा महामन्त्री शाहले भने, ‘सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, र सोहीअनुसार बजेटको व्यवस्था गरिएको छ। अब त्यसलाई भुइँतहको विकासमा ढाल्नका लागि हामी अगाडि बढिरहेका छौँ। हामीले एकदमै सफा नियतका साथ काम गरिरहेका छौँ, त्यसैले जनतासँग गरेका वाचा पूरा गर्न पार्टी र सरकार दृढ छन्।’

महामन्त्री शाहले पार्टी राजनीतिमा सधैँ दुई किसिमका गुणहरूको सङ्घर्ष हुने गरेको चर्चा गर्दै पार्टी र देशलाई निस्वार्थ माया गर्ने गुणलाई मात्र साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए। पार्टीमा निरन्तर योगदान दिने र अहोरात्र काम गरिरहने वर्गलाई कहिल्यै नथाक्न आग्रह गर्दै उनले सबल पार्टीको माध्यमबाट मात्रै देश बनाउन सम्भव हुने धारणा राखे।

यदि रास्वपा सबल र सुदृढ पार्टी बनेमा कम्तीमा दुईदेखि तीन दशकसम्म देशको नेतृत्व गर्ने दाबी गर्दै उनले अहिले सिंगो पार्टी पङ्क्ति नै सङ्गठन बलियो बनाउने अभियानमा लाग्ने बेला आएको बताए। ‘अहिले पार्टी निर्माण गर्ने मुख्य बेला हो, यस अभियानमा इमानदारिताका साथ योगदान दिनेहरूलाई पार्टीले सोहीअनुसार उचित अवसर दिन्छ,’ महामन्त्री शाहले थपे, ‘पार्टी यतिबेला महाधिवेशनको तयारीमा होमिएको छ, त्यसैले चुस्त र बलियो सङ्गठन बनाउन सबैले गाउँ-गाउँमा मेहनत गरौँ।’

You may also like