वीरगगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतको अनुमति

by समतल अनलाइन
59Shares

वीरगञ्ज। जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अर्काकी छोरीलाई आफ्नी भनी झूटो विवरणका आधारमा नागरिकता र राहदानी बनाइदिएको (लिखतसम्बन्धी कसुर) मुद्दामा अनुसन्धानका लागि अदालतले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवका अनुसार अदालतले सोही मुद्दामा मेयर सिंहकी श्रीमती र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ। अदालतले आरोपीहरूलाई ७ दिनभित्र पक्राउ गरी अदालतमा पेस गर्न प्रहरीलाई आदेश दिएको छ। यदि सात दिनभित्र पक्राउ गर्न नसकिएमा ३५ दिने पक्राउ पुर्जी तामेली गर्न समेत अदालतले निर्देशन दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले अदालतको आदेश कार्यान्वयनका लागि प्रहरी सक्रिय भइसकेको बताए। ‘सम्मानित पर्सा जिल्ला अदालतबाट राजेशमान सिंह र अन्य दुई जनालाई पक्राउ गर्न जारी भएको पुर्जी प्राप्त भएको छ,’ डीएसपी बस्नेतले भने, ‘पुर्जी प्राप्त भएसँगै हामीले खोजतलासका लागि विशेष टोली परिचालन गरिसकेका छौँ।’

सिंहमाथि अर्काकी छोरीलाई आफ्नो भनी झूटो जन्मदर्ता बनाएको र सोही आधारमा नेपाली नागरिकता तथा राहदानी (पासपोर्ट) समेत कीर्ते गरेर विदेश पठाएको गम्भीर आरोप लागेको छ। यही कसुरमा उनीविरुद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा मुद्दा चलिरहेको छ। त्यसमध्ये नागरिकता लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले यो पक्राउ पुर्जी जारी गरेको हो। नाता प्रमाणित र नागरिकता बनाइएकी ती युवती भने हाल राहदानी बनाएर अध्ययनका लागि विदेश गइसकेकी छन्।

यस मुद्दामा दोषी ठहरिए गम्भीर कानुनी सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिता २०७४ को कीर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना माग दाबी गरिएको छ। सोही व्यवस्थाअनुसार मेयर सिंहसहितका आरोपीहरूविरुद्ध सजायको माग गर्दै मुद्दा अघि बढाइएको हो।

You may also like