ट्राफिक जाम र प्रदूषणको कारण देखाउँदै सरकारले सार्वजनिक सवारी साधनको दर्ता रोक्यो

by समतल अनलाइन
51Shares

काठमाडौँ । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले सवारी दर्तामा रोक लगाएको हो ।

यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय ९इलेक्ट्रिक० सार्वजनिक सवारी साधनसमेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। विभागले जारी गरेको परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ उत्पन्न भएको उल्लेख छ।

इन्धनको बढ्दो मूल्य र सवारीको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्न सार्वजनिक सवारीको यथोचित व्यवस्थापन आवश्यक देखिएकाले दर्ता रोक्ने निर्णय गरिएको विभागले जनाएको छ। विभागले यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा ९३० अनुसार गरिएको उल्लेख गरेको छ।

सो ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको अवस्था वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमका सवारी साधनको दर्ता रोक्न आवश्यक देखिएमा विभागले आदेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ। सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय तत्काल लागू हुने स्पष्ट पारेको छ।

यो सूचनासँगै अर्को व्यवस्था नभएसम्म देशभर सबै प्रकारका नयाँ सार्वजनिक सवारी साधन दर्ता रोकिएको छ ।

You may also like