सामग्री अभावले प्रभावित बुटवल–गोरुसिङ्गे सडक आयोजनाको काम

by समतल अनलाइन
48Shares

बुटवल। पिच गर्न आवश्यक अलकत्राको अभावका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। आयोजनाअन्तर्गत केही क्षेत्रमा कालोपत्रेका लागि तयारी पूरा भए पनि अलकत्रा अभावले पिचको काम रोकिएको हो।

आयोजना कार्यालय तथा निर्माण कम्पनीले अलकत्रा अभावले निर्माण कार्यमा असर परेको भन्दै पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। बुटवल खण्ड र कपिलवस्तु खण्डका केही भागमा कालोपत्रे सुरु गर्ने तयारी भए पनि आवश्यक सामग्री नहुँदा काम अघि बढ्न सकेको छैन।

केही दिनअघि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल ले उक्त सडकखण्डको स्थलगत निरीक्षण गरेका थिए। त्यस क्रममा निर्माण कम्पनीका प्रतिनिधिले अलकत्राको अभावका कारण निर्माण कार्य सुरु गर्न नसकिएको जानकारी गराएका थिए। मन्त्री लम्सालले आवश्यक सामग्री उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने आश्वासन दिएका थिए।

निर्माण कम्पनीले अलकत्रासँगै माटो र नदीजन्य पदार्थको अभावले पनि निर्माण कार्य प्रभावित भएको जनाएको छ। उनीहरूले आवश्यक सामग्री व्यवस्थापनका लागि मन्त्रीसमक्ष सहजीकरणको माग गरेका थिए।

बुटवलस्थित आयोजना कार्यालयका अनुसार बुटवल क्षेत्रमा करिब एक किलोमिटर र कपिलवस्तु क्षेत्रमा तीन किलोमिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा रहेको छ। तर सामग्री अभावले काम अघि बढ्न सकेको छैन।

आयोजनासँग सम्बन्धित स्थानीय तहहरूले माटो तथा नदीजन्य पदार्थ उपलब्ध गराउन सहजीकरण नगरेको निर्माण कम्पनीको गुनासो छ। तर सैनामैना नगरपालिका ले भने आवश्यक प्रक्रिया पूरा भएमा उत्खनन तथा निकासीमा सहजीकरण गर्न तयार रहेको जनाएको छ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा ले निर्माण कम्पनीले कानुनी प्रक्रिया पूरा गरे नगरपालिकाले माटो तथा नदीजन्य पदार्थ उत्खननमा सहयोग गर्ने बताएका छन्।

आयोजनाले माटो अभावकै कारण सडक निर्माणमा ढिलाइ भइरहेको जनाएको छ। वर्षा सुरु हुनुअघि करिब तीन लाख घनमिटर माटो आवश्यक भए पनि पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन।

आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपाने का अनुसार हालसम्म आयोजनाको करिब २५ प्रतिशत काम सम्पन्न भएको छ।

५० किलोमिटर लामो बुटवल–गोरुसिङ्गे सडक आयोजनालाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ। रुपन्देहीतर्फ बुटवल–सालझण्डी २५ किलोमिटर र कपिलवस्तुतर्फ सैनामैना–गोरुसिङ्गे २५ किलोमिटर सडक निर्माणाधीन छ।

चिनियाँ निर्माण कम्पनी चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनस्थित आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेका हुन्।

You may also like