काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले बदर गरिदिएको छ।
विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेशलाई मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उल्ट्याउँदै धरौटीमा छाड्न आदेश दिएको हो।
गुप्तालाई ५० लाख नगद धरौट वा सोबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानतमा तारेखमा छाड्न आदेश दिएको हो। पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा प्रकरणमा ७८ लाख घुस लेनदेन भएको ठहर गर्दै गुप्तासहित दुई पूर्वमन्त्रीसमेत सातविरुद्ध ०८२ असोज २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेषले गुप्तालाई थुनामा पठाउन आदेश गरेको थियो। अन्य प्रतिवादीको हकमा विशेषको आदेश बेरितको नदेखिँदा परिवर्तन गर्नु नपर्ने सर्वोच्चको ठहर छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यही मुद्दामा नेपाली कम्युनिष्ट पार्टीकी नेता एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी थिइन्।








