नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) बुटवलमा भिमबहादुर दर्लामी अध्यक्ष निर्वाचित

by समतल अनलाइन
55Shares

बुटवल । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) बुटवल नगर कार्य समितिको बुधबार सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट भिमबहादुर दर्लामी अध्यक्षमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मिनबहादुर राना, महिला उपाध्यक्षमा भागमनी चौधरी, सचिवमा जितबहादुर थापा, सहसचिवमा पंकजकुमार मल्लाह तथा कोषाध्यक्षमा दुर्गाप्रसाद आचार्य चयन भएका छन् ।

११ सदस्यीय कार्यसमितिका सदस्यहरूमा गीतादेवी राव चमार, दुर्गा चौधरी, पतिराम चौधरी, प्रेमबहादुर पुन र शालिकराम पाण्डे चयन भएको निर्वाचन समितिका संयोजक खिमानन्द भट्टराईले जानकारी दिए ।

कार्यक्रममा श्रमिक अधिकार संरक्षण, संगठन विस्तार तथा श्रमिक कल्याणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

संघका नगर अध्यक्ष तिलबहादुर हिस्कीले श्रमिकहरूको हकहितका लागि संघ निरन्तर सक्रिय रहेको बताए । उनले स्थापना कालदेखि श्रमिकहरूलाई राहत, परिचयपत्र वितरण तथा विभिन्न सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समयअनुकूल कार्यक्रमलाई निरन्तरता दिइने बताए । साथै असक्त श्रमिकलाई आर्थिक सहयोग, सम्मान कार्यक्रम तथा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै काउनका केन्द्रीय निवर्तमान अध्यक्ष जे.बी. गुरुङले निर्माण मजदुरहरूको हकहित तथा सामाजिक सुरक्षाका लागि काउनले उल्लेखनीय काम गरेको बताए । उनले स्थानीय तहदेखि केन्द्रीय समितिसम्म जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी, लुम्बिनी प्रदेश सचिव खगेन्द्र पौडेल, जिल्ला कावा अध्यक्ष मोहनी चौधरी, प्रदेश सदस्य राजाराम मुरइ तथा नवनिर्वाचित अध्यक्ष भिमबहादुर दर्लामीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा नगर अध्यक्ष तिलबहादुर हिस्कीले वार्षिक प्रतिवेदन, सचिव जयसिंह चौधरीले संगठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गाप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका सचिव चौधरीका अनुसार संघले श्रमिकहरूलाई संगठित गर्दै अनुगमन, मुद्दा, सटरिङ, मिक्स्चर मेसिन, महिला तथा लेखा उपसमिति गठन गरी श्रमिक र निर्माण व्यवसायीबीच देखिने समस्या समाधान गर्ने काम गरिरहेको छ । साथै निर्माण क्षेत्रमा कार्यरत मिस्त्री, हेल्पर तथा कन्ट्र्याक्ट लिडरहरूलाई परिचयपत्र वितरण, इजाजतपत्र नवीकरण तथा अनुगमन प्रणालीलाई व्यवस्थित बनाइएको उनले बताए ।

कार्यक्रममा संस्थामा योगदान पुर्‍याउने तथा रक्तदानमा सहभागी व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

You may also like